फाल्गुन १७, धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। २० वर्षीया अञ्जली यादवको शव शनिबार दिउँसो १ बजे घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिएका छन्।
स्थानीयवासीले अचानक अञ्जली हराएको र उनका श्रीमान् हरिराम यादव पनि बेपत्ता भएको सूचना दिएका थिए। अनुसन्धानका क्रममा प्रहरीले अञ्जलीको शव फेला पारेको हो। प्रहरीको प्रारम्भिक आशंकाअनुसार, श्रीमान् हरिराम यादवले नै अञ्जलीको हत्या गरेर शव लुकाएको हुन सक्छ। हाल उनी फरार रहेका छन् भने उनीहरूकी १० महिनाकी छोरीको पनि अत्तोपत्तो छैन।
स्थानीयका अनुसार, गत शनिबार राति अञ्जली र हरिरामबीच विवाद भएको थियो। त्यसको भोलिपल्ट हरिरामले श्रीमती हराएको भन्दै छरछिमेकलाई जानकारी गराएका थिए। तर, मंगलबारदेखि उनी स्वयं पनि बेपत्ता भएका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।





