कपिलवस्तु, चैत ४ — कपिलवस्तुस्थित नेपाल–भारत सीमाबाट पछिल्लो एक महिनाको अवधिमा ६४ लाख रुपैयाँभन्दा बढी मूल्यका राजस्व छलिएका सामग्रीहरूqq बरामद भएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण मुख्यालय, कपिलवस्तुको टोलीले सीमामा कडाइका साथ निगरानी गर्दा ती अवैध सामग्रीहरू फेला पारेको हो।
गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीका अनुसार फागुन महिनादेखि सञ्चालन गरिएको विशेष अनुगमन अभियानले राजस्व छल गरेर ल्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिन सफल भएको हो।
बरामद सामग्रीहरूमा लत्ता–कपडा, घर निर्माण सामग्री, इलेक्ट्रोनिक तथा इलेकट्रिकल उपकरण, कस्मेटिक वस्तुहरू, सुर्तीजन्य पदार्थ, मोबाइल पार्ट्स, औषधी, कुखुरा, माछा तथा वनजङ्गलजन्य उत्पादनहरू रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार, बरामद गरिएका ती सामग्रीहरूको अनुमानित मूल्य ६४ लाख ३३ हजार ८६२ रुपैयाँ रहेको छ। बरामद वस्तुहरू कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय तथा सम्बन्धित निकायहरूमा बुझाइएको जनाइएको छ।





