चैत १०, स्याङ्जा — स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा बेपत्ता भएका भ्यान चालक सुरज थापा घाइते अवस्थामा फेला परेका छन्। चापाकोट नगरपालिकाका स्थायी बासिन्दा तथा हाल वालिङ–७ केवरेमा बस्दै आएका २८ वर्षीय थापालाई दुर्घटनास्थलबाट केही पर घाइते अवस्थामा प्रहरीले फेला पारेको हो। उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ।
गएराति वालिङ–चापाकोट सडकखण्डमा पर्ने वालिङ नगरपालिका–५ र ७ को सीमाना मझकोटमा दुर्घटना भएको थियो। **ग १ ज ७५११** नम्बरको विङ्गर भ्यान सडकबाट झण्डै १५० मिटर तल खसेको अवस्थामा भेटिएको हो। दुर्घटनामा वालिङ–७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेको घटनास्थलमै मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।
वडा नं. ५ का वडाध्यक्ष छविलाल आलेका अनुसार गाडी तल खसेको देखेपछि प्रहरीलाई जानकारी गराइएको हो। दुर्घटनाबारे अझै धेरै विवरण नखुले पनि चालक जीवितै फेला परेपछि घटनाको कारण खुल्ने प्रहरीको विश्वास छ।
प्रहरीका अनुसार भ्यान कुन दिशातर्फ गइरहेको थियो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर विस्तृत अनुसन्धान अघि बढाइएको छ।


.jpg)


