वैशाख ५ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्व निर्धारित तालिका अनुसार वैशाख ११ गतेदेखि नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले परीक्षा स्थगित गरिएको भनी सामाजिक सञ्जालमा फैलाइएको सूचना पूर्ण रूपमा भ्रामक भएको बताउँदै विद्यार्थी, अभिभावक र शिक्षकमाझ भ्रम नफैलाउन आग्रह गरेको छ।
बोर्डका अनुसार केही व्यक्तिहरूले बोर्डको नाममा बनावटी लेटरप्याड प्रयोग गरी अध्यक्षको हस्ताक्षर स्क्यान गरेर अनधिकृत रूपमा परीक्षा स्थगित भएको सूचना प्रवाह गरिरहेका छन्। यस प्रकारको कार्य साइबर अपराध अन्तर्गत पर्ने भन्दै कानुनी प्रक्रिया अघि बढाइएको जानकारी बोर्डले दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डको वेबसाइटमार्फत मात्र सार्वजनिक हुने भन्दै अन्य स्रोतबाट आउने सूचनामा विश्वास नगर्न स्पष्ट पारेको छ। यसका साथै बोर्डले सम्पूर्ण विद्यार्थीहरूलाई धैर्यतापूर्वक अध्ययनलाई निरन्तरता दिन आग्रह गर्दै, परीक्षा सफलतापूर्वक सञ्चालनका लागि शिक्षक, अभिभावक र विद्यालय प्रशासनसँग सहकार्य र समन्वयको अपिल पनि गरेको छ।





