सप्तरी, चैत २६ — सप्तरीको अग्निसाइर कृष्णा संवरण गाउँपालिका–५ बकधुवामा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार दुर्घटनामा तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरका करिब ४५ देखि ५० वर्ष उमेरका हरेराम मण्डलको ज्यान गएको हो।
डिभिजन वन कार्यालय महुलीमा कार्यरत मण्डल कार्यालय जाँदै गर्दा उनले चलाएको प्रदेश २–०१–००२ प. २३०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।
मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।





