कपिलवस्तु, जेठ १७ – कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१ स्थित पकडीमा प्रेसर कुकर बम जस्तो देखिने एक शङ्कास्पद वस्तु फेला परेको छ। कृषि विकास बैंक अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शंकास्पद देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। एसपी भट्टका अनुसार शङ्कास्पद वस्तुको डिस्पोजल (नष्ट) गर्ने तयारी भइरहेको छ।
प्रहरीका अनुसार घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पनि खटिएको छ। उक्त कुकरमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीपूर्ण सन्देश टाँसिएको पर्चा भेटिएको छ।
वस्तु वास्तवमै विस्फोटक हो वा होइन भन्ने विषयमा पुष्टि भइनसकेको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।