आज आइतवार बिहानदेखि मकवानपुर र ललितपुरको सिमानामा पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को बीचमा रहेको बागमती नदीमा बनाइएको अस्थायी डाइभर्सन वर्षासँगैको बाढीले बगाएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार प्रहरी टोलीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ। “डाइभर्सन बगेकाले तत्काल सवारी आवागमन सम्भव छैन, सुरक्षाकर्मीहरू आवश्यक समन्वयमा जुटेका छन्,” अर्यालले बताए।
यसअघि नै प्रशासनले मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडक खण्डमा सडक चौडाइ विस्तारका लागि वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सवारी आवागमन बन्द रहने सूचना जारी गरेको थियो।
निरन्तर वर्षा भइरहेकाले हेटौँडा–काठमाडौँ यात्रा गर्ने यात्रुहरूलाई विशेष सावधानी अपनाउन तथा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ।