काठमाडौं, वैशाख २१ – देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण मौसम बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राजधानी काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ।
महाशाखाद्वारा आज सार्वजनिक गरिएको मौसम बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ। विशेषगरी कोशी, लुम्बिनी प्रदेश तथा अन्य पहाडी भू–भागका केही स्थान र बाँकी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
यसैगरी, हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र केही स्थानहरूमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज रातिको समयको लागि पनि देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





