पूर्वी नवलपरासीको दाउन्ने क्षेत्रमा सडक चिप्लो र जोखिमपूर्ण भएकाले सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो।
सडक अवरुद्ध हुँदा अहिले सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। लामो समयदेखि पहाड काट्ने, पर्खाल निर्माण गर्ने तथा कल्भर्ट जडानको काम भइरहेकै अवस्थामा परेको वर्षाले अवस्थालाई झन् जटिल बनाएको हो।
यस क्षेत्रमा वैशाख ३१ गतेसम्म प्रत्येक राति ११ बजेबाट बिहान ५ बजेसम्म सडक विस्तारका लागि सवारी आवागमन रोक्ने निर्णय गरिएको थियो। तर अहिलेको प्राकृतिक कारणले आकस्मिक रूपमा दिउँसै सडक ठप्प बनेको छ।
प्रहरी तथा निर्माण कम्पनीको टोलीले सडक सुधारको प्रयास गरिरहेको जनाइएको छ। जिल्ला प्रशासन तथा ट्राफिक कार्यालयले यात्रा गर्नु अघि सडक अवस्थाबारे जानकारी लिएर मात्र दाउन्ने खण्ड तर्फ लाग्न आग्रह गरेका छन्।