विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यसपालि मे २९ (जेठ १६) मै मनसुन प्रवेश भएको हो। हाल कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।
जोशीले देशका अन्य भू-भागमा भने मनसुन विस्तार हुन केही दिन लाग्ने उल्लेख गर्दै हाल पश्चिमी वायु र स्थानीय वायूको प्रभाव यथावत् रहेको जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाले मनसुनको निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अद्यावधिक जानकारी दिइरहेको पनि विभागले जनाएको छ।
विभागले आगामी चार महिनाको मनसुन अवधिमा देशका अधिकांश भू-भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। जेठ १८ देखि असोज १४ सम्मको अवधिका लागि गरिएको आकलन अनुसार केही क्षेत्रमा ५५–६५ प्रतिशतसम्म बढी वर्षाको सम्भावना रहेको बताइएको छ।
प्रदेश अनुसार वर्षाको सम्भावना:
कर्णाली प्रदेश (पूर्वी भाग), लुम्बिनी (उत्तरी भाग), गण्डकी (अधिकांश भू-भाग) – ५५% देखि ६५% सम्भावना
सुदूरपश्चिम (दक्षिणी भाग), लुम्बिनी (पश्चिमी भाग), गण्डकी (उत्तर–पूर्वी भाग), बागमती र कोशी (उत्तरी भाग) – ४५% देखि ५५% सम्भावना
मधेश प्रदेश (पूर्वी तथा दक्षिणी भाग), बाँकी अन्य भू–भागहरू – ३५% देखि ४५% सम्भावना
विभागले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र नियमित मौसम बुलेटिनमार्फत जानकारी लिन अनुरोध गरेको छ।