काठमाडौं, जेठ १७ – काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित टेम्पो पार्क सडक खण्डमा शुक्रबार बिहान ईभी माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ।
महांकालबाट सितापाइलातर्फ गइरहेको बा.प्र.०१–००२ ज ७०५७ नम्बरको सो ईभी माइक्रोमा सवार उदयपुर, कटारी नगरपालिका–७ घर भइ हाल नागार्जुन नगरपालिका–६, रामकोट बस्दै आएकी ३८ वर्षीया कोपिला परियार गाडीबाट खस्न पुगेकी थिइन्।
घटनामा गम्भीर घाइते भएकी परियारलाई तत्काल उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि माइक्रो चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।