धादिङको धुनीवेशी नगरपालिका–९ स्थित सिक्रे खोलामा स्वीकृति विना ढुङ्गा उत्खनन भइरहेको सूचनाका आधारमा गरिएको छड्के अनुगमनमा ६ वटा सवारीसाधन स्थानीय प्रशासनद्वारा नियन्त्रणमा लिइएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे नेतृत्वको टोलीले अनुगमनका क्रममा ३ वटा एक्स्काभेटर र ३ वटा टिपर नियन्त्रणमा लिएको हो।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार, समातिएका एक्स्काभेटरमध्ये केही सवारी दर्ता नम्बरविना सञ्चालन भइरहेको पाइयो भने टिपरहरू समेत इजाजतबिना उत्खननमा संलग्न थिए।
उत्खनन स्थलमा पुग्दा सवारी चालकहरू भने फरार भइसकेका थिए।
पक्राउ गरिएका सवारीसाधनहरू अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्। प्रमुख जिल्ला अधिकारी घिमिरेले उक्त स्थानको थप अनुसन्धान गरी कानुन अनुसार कडाइका साथ कारबाही गरिने जानकारी दिएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार, सिक्रे खोला क्षेत्रमा लामो समयदेखि अवैध ढुङ्गा उत्खनन हुँदै आएको थियो। यसले खोलाको प्राकृतिक संरचना बिगार्नुका साथै वातावरणीय असरसमेत पार्दै आएको गुनासो छ।
– संवाददाता, धादिङ