अछाम जिल्ला चौरपाटी गाउँपालिका–४ पायलका वडा सदस्य दीपेन्द्र बहादुर बोहरा भारतको मुम्बईमा चार दिनदेखि सम्पर्कविहीन भएका छन्।
गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदका अनुसार, स्वास्थ्य समस्याका कारण उपचारका लागि मुम्बई गएका बोहरा वैशाख १६ गते घरबाट घुम्न निस्किएपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
बोहरा मुम्बईस्थित कोपर खन्ना स्टेसन नजिकको सेक्टर नम्बर १९ मा आफन्तको घरमा बस्दै उपचार गराइरहेका थिए। तर वैशाख १६ गते बिहान उनी घुम्न जान्छु भन्दै निस्किएका थिए र त्यसयता सम्पर्कविहीन छन्।
गाउँपालिकाले वैशाख १९ गते औपचारिक सूचना प्रकाशित गर्दै बोहरा बेपत्ता भएको पुष्टि गरेको छ र खोजी कार्य थालिएको जनाएको छ। सूचनामा बोहराको उमेर करिब ४०–४२ वर्ष रहेको उल्लेख गरिएको छ।
गाउँपालिका अध्यक्ष साउँदले बोहराको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नभएको जनाउँदै सम्पूर्ण आफन्तजन, सञ्चारकर्मी, सामाजिक संस्था तथा सरोकारवालाहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।
उनले परराष्ट्र मन्त्रालयमा समेत जानकारी गराइसकिएको र भारतस्थित सम्बन्धित निकायसँग पनि समन्वय गरिने बताएका छन्।
बोहरा नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित भएका थिए। उनी न्यायिक समिति सदस्य समेत हुन्। उनका परिवार, स्थानीयबासी र पालिका प्रतिनिधिहरू उनको अवस्थाप्रति चिन्तित छन्।