तीन महिनादेखि परिवारसँग सम्पर्कविहीन रहेका भण्डारी दुबईको अर्लकटु क्षेत्रमा बेवारिस अवस्थामा भेटिएको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो। उनीलाई सोही ठाउँमा कार्यरत नेपाली हस्तबहादुर वाइबाले फेला पारेका हुन्।
भण्डारी शारीरिक र मानसिक रूपमा अस्वस्थ देखिएका छन्। बोल्न गाह्रो हुने, मोबाइल र पासपोर्ट नभएको अवस्थामा फेला परेका उनी आफू घर जान चाहन्छु भन्नेबाहेक अरू केही खुलाउन सकेका छैनन्।
उनी कुन कम्पनीमा, के काम गर्थे भन्ने पनि थाहा नभएको उद्धारकर्ताहरूले बताएका छन्। उनका बारेमा जानकारी पाउन त्यहाँ रहेका नेपालीहरूले सामाजिक सञ्जालमा तस्बिर र भिडियोसमेत सार्वजनिक गरेका छन्।
घरमा वृद्ध बुबाआमा, श्रीमती र दुई छोरी रहेका भण्डारी परिवारका जेठा छोरा हुन्। घरको आर्थिक अवस्था कमजोर भएकाले परिवारले उनलाई स्वदेश फर्काउन सरकारी सहयोगको आवश्यकता रहेको बताएका छन्।
भण्डारीका बुबा हरि बहादुरले भने, “छोरासँग तीन महिना सम्पर्क भएन। खोजी गरिरहेकै थियौँ। आज मात्रै गाउँका केही युवाले सामाजिक सञ्जालबाट यस्तो अवस्थामा भेटिएको जानकारी दिए। अब कसरी नेपाल ल्याउने भन्ने चिन्ता छ।”