झापा, वैशाख २८ – झापाको कनकाई नगरपालिका–२ सुकेडागीमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। ३५ वर्षीय कविराज हेमरनले शनिवार राति ३४ वर्षीया श्रीमती पूजा हेमरनको घाटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घटना राति करिब ११:२० बजेको समयमा भएको हो। हत्यापछि आरोपी श्रीमान् प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। उनलाई हाल प्रहरी नियन्त्रणमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय खुरूङ्गाले जानकारी दिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि मात्र घटनाको उद्देश्य, कारण र पृष्ठभूमि सार्वजनिक गरिनेछ।