सरकारले ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न आगामी आर्थिक वर्षका लागि एक खर्ब नौ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।
चालु आर्थिक वर्षमा सरकारको सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत एक खर्ब १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो। यसअघि, अघिल्लो आर्थिक वर्षमा सरकारद्वारा एक खर्ब आठ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको थियो।
अर्थमन्त्री पौडेलले संघीय सरकारले सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमसँग दोहोरो हुने गरी प्रदेश र स्थानीय सरकारले यस्ता कार्यक्रम सञ्चालन गर्न नपाउने स्पष्ट नीति लिइएको जानकारी समेत दिएका छन्।
सरकारले सामाजिक सुरक्षालाई बजेटको प्राथमिकतामा राख्दै वृद्ध, अपाङ्ग, एकल महिला, दलित र अन्य पिछडिएको वर्गको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।