काठमाण्डौ, जेठ १९ – सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबार (जेठ २०) देखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याउने निर्णय गर्दै अनिश्चितकालीन सवारी बन्दको घोषणा गरेको छ।
गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नयाँ नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएको समितिले विज्ञप्ति जारी गर्दै उक्त नियम तत्काल खारेज गर्न माग गरेको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, निजी प्रयोजनका लागि खरिद गरिएका पुराना दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई व्यवसायिक प्रयोजनमा प्रयोग गर्न दिने गण्डकी प्रदेश सरकारको निर्णय संविधान र सवारी ऐन विपरीत रहेको भन्दै सात बुँदे मागसहित संघीय सरकारलाई ध्यानाकर्षण गराएको समितिले जनाएको छ।
गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत १० वर्ष पुराना मोटरसाइकल र १५ वर्ष पुराना कारहरूलाई राइड सेयरिङका लागि प्रयोग गर्न दिने नियमावली जेठ १ गतेदेखि लागू गरेपछि सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित बनेका हुन्।
समितिले नेपाल सरकार, गण्डकी प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालयहरूलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्दै आन्दोलनको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो सात बुँदे माग तत्काल सम्बोधन गरिएन भने हामी बाध्य भएर सार्वजनिक यातायात सञ्चालन नगरी सवारी साधन ग्यारेजमा थन्क्याउने निर्णयमा पुगेका छौं।”
सार्वजनिक यातायात बन्दबाट पर्न जाने असहजताप्रति दु:ख व्यक्त गर्दै समितिले यात्रु, उपभोक्ता, मजदुर र कर्मचारी वर्गलाई आन्दोलनमा साथ दिन अपिलसमेत गरेको छ।