असार ३ गते, नुवाकोट — जीउ मास्ने बेच्ने (मानव बेचबिखन) मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजाय सुनाएको नुवाकोटका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ।
पुनरावेदन अदालत इलामले २०६५ साल माघ १३ गते ३ वर्ष ८ महिना ४ दिन कैद भुक्तान गर्नु पर्ने फैसला सुनाएको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ फेदीका ५३ वर्षीय दावा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तामाङलाई प्रहरीले खोजतलास गर्दै उनकै घरबाट पक्राउ गरेको हो। प्रहरी चौकी समुद्रटारबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो।
पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारवाहीका लागि सोमवार नुवाकोट जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेशपछि उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय खम्पा क्याप, नुवाकोट चलान गरिएको प्रहरीले जनाएको छ।