असार ३ गते, रसुवा — जिल्लाका दुई फरक स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ। नौकुण्ड गाउँपालिका–५ र कालिका गाउँपालिका–५ को सीमामा पर्ने पाहाखोलामा दुई बालिकाको शव फेला परेको छ भने कालिका गाउँपालिका–१ ग्राङ गाउँमा भर्याङको च्यापेटामा परेर एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
नौकुण्ड गाउँपालिका–५ सिस्नेरी निवासी लालबहादुर मुक्तानकी १३ वर्षीया छोरी सर्गम मुक्तान र १० वर्षीया छोरी सविना मुक्तानको शव खोलामा मृतावस्थामा फेला परेको हो।
त्यस्तै कालिका गाउँपालिका–१ ग्राङकी ४३ वर्षीया चिर्की तामाङ निर्माणाधीन बौद्ध गुम्बाको भर्याङ भत्किँदा गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि जिल्ला अस्पताल धुञ्चे लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो।
दुई बालिकाको शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको छ। यी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





