हेटौँडा, असार २ गते। मकवानपुर प्रहरीले इटालियन पेस्तोल, गोली र ठूलो परिमाणको लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने ४५ वर्षीय राजु स्याङ्तान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पत्रकार सम्मेलन गरी स्याङ्तानलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार स्याङ्तानलाई गत जेठ ३१ गते आफ्नै घरबाट लागुऔषध र हातहतियार लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरी टोलीले स्याङ्तानको सुत्ने कोठाबाट ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको म्यागजिनसहितको पेस्तोल, थप एक थान खाली म्यागजिन र १३ राउन्ड गोली बरामद गरेको छ। त्यस्तै, गोठको दोस्रो तलामा मकैको खोस्टाभित्र प्लास्टिकको झोलामा बेरेर राखिएको कटुवा पेस्तोल एक थान, ८ एमएमका १२ राउन्ड गोली, एक किलो ३१० ग्राम अफिम र २२ किलो ८०० ग्राम गाँजा फेला परेको छ।
यसैगरी स्याङ्तानको घरभन्दा पाँच सय मिटर दूरीमा रहेको आँपको रुखको फेदबाट थप एक थान कटुवा पेस्तोल, पाँच राउन्ड गोली र दुई पोकामा राखिएको एक किलो ४८० ग्राम अफिम पनि प्रहरीले बरामद गरेको हो।
प्रहरीका अनुसार स्याङ्तान यसअघि पनि लागुऔषध तथा हातहतियारसम्बन्धी मुद्दामा दुई पटक पक्राउ परेका थिए। २०७१ सालमा दुई वर्ष कैद सजाय र २०७६ साउनमा पाँच वर्ष छ महिनाको कैद सजाय भुक्तान गरी २०८१ माघमा छुटेका उनलाई पुनः आपराधिक क्रियाकलापमा संलग्न अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ परेका स्याङ्तानमाथि लागुऔषध तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत मकवानपुरबाट सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभएको छ।