काठमाडौँ, असार २ गते। वैदेशिक रोजगारीको आकर्षक प्रस्ताव देखाउँदै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन्।
दीपाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट २३ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् भने व्रिजेशले युके पठाइदिन्छु भन्दै अर्को पीडितबाट २ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले शनिबार दीपालाई बुढानिलकण्ठ नगरपालिका–११ बाट र आइतबार व्रिजेशलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार दीपालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पठाइएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख भएअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।





