असार ९ गते, धनगढी । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित डेरा कोठामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । पुनर्वास नगरपालिका–११ अमरबस्ती निवासी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् ।
डेरा गरिरहेकी चौधरीको कोठामा बाहिरबाट ताल्चा लागेको अवस्थामा शव भेटिएपछि घटना रहस्यमय बन्दै गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अविवाहित रहेकी चौधरीको मृत्युको कारण खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार घटनास्थल सिल गरी अनुसन्धान अघि बढाइएको छ । घटनाबारे थप विवरण संकलन कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।