असार ९ गते, दोहा (एजेन्सी)। इरानले सोमबार कतारको राजधानी दोहा नजिकै रहेको महत्त्वपूर्ण अल उदीद सैन्य अड्डातर्फ मिसाइल प्रहार गरेको छ। तर कतारको वायु सुरक्षा प्रणालीले ती मिसाइलहरू समयमै खसाल्न सफल भई कुनै जनधनको क्षति हुन पाएन।
कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै सो आक्रमणलाई कतारको सार्वभौमिकता र हवाई क्षेत्रको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभयो।
"यस प्रकारका क्रियाकलापले क्षेत्रीय स्थायित्वमा प्रतिकूल असर पार्ने सम्भावना छ," भन्दै उहाँले सम्बन्धित पक्षहरूलाई तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गर्नुभएको छ।
कतारले सैन्य अड्डाबाट सुरक्षाका सबै उपायहरू अवलम्बन गर्दै समयमै सैनिक तथा कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरेको जनाएको छ। हालसम्म कसैलाई चोटपटक वा मानवीय क्षति नभएको स्पष्ट गरिएको छ।
इधर, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले आक्रमणको जिम्मा लिँदै सो कारवाहीलाई 'अभिनन्दनको विजय' नाम दिएको छ। IRGC का अनुसार, इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरू नै मुख्य निशाना थिए। अल उदीद अड्डालाई पश्चिम एसियामा अमेरिकी वायुसेनाको मुख्य केन्द्रका रूपमा उल्लेख गरिएको छ।
इरानले अमेरिकी हवाई आक्रमणको प्रतिशोधस्वरूप आक्रमण गरेको बताएको छ। शनिबार अमेरिकी सेनाले इरानका तीनवटा परमाणु केन्द्रहरूमा हवाई आक्रमण गरेको थियो।
आक्रमणपछि खाडी क्षेत्रका मुलुकहरू उच्च सतर्क अवस्थामा छन्। कतार र संयुक्त अरब इमिरेट्सले हवाई मार्ग पहिल्यै बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले सोमबार आंशिक रुपमा आकाश मार्ग बन्द गरेका छन्।
कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रको एक प्रमुख अमेरिकी र साझेदार राष्ट्रहरूको सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन्। यो घटना पश्चिमा मुलुक र इरानबीचको चिसिएको सम्बन्धलाई अझ तनावपूर्ण बनाउने विश्लेषकहरूको ठम्याइ छ।