ललितपुर महानगरपालिका–२, सानेपा कालोपुलमा सञ्चालनमा रहेको 'राजतिर्थ ट्रेडर्स' नामक किराना पसलको आवरणमा गैरकानुनी क्रिप्टोकरेन्सी र हुण्डी कारोबार हुँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। सोही क्रममा प्रहरीले भारत, बिहार निवासी ४३ वर्षीय रुपेशकुमार गुप्ता र २२ वर्षीय बिपिनकुमारलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, पक्राउ परेकाको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारु, एक थान सीसीटीभी डिभिआर, साथै संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वस्तु समेत बरामद गरिएको छ। प्रहरीले यिनलाई आर्थिक कारोबारसँगै वन्यजन्तु संरक्षण ऐन उल्लंघन गरेको अभियोगमा समेत अनुसन्धान अघि बढाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, सो किराना पसलको नाममा कुल १ अर्ब ५० करोडभन्दा बढी मूल्य बराबरको डिजिटल मुद्राको कारोबार भएको छ। उनीहरूले क्रिप्टोकरेन्सी प्रयोग गरी हुण्डी कारोबार, अवैध रूपमा पैसा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको प्रमाण फेला परेको बताइएको छ।
CIB का प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, पक्राउ परेका दुवै व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डी कारोबारमा संलग्न हुने, साथै वन्यजन्तु सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।
प्रवक्ता खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गैरकानुनी डिजिटल मुद्रा कारोबारले मुलुकको वित्तीय प्रणालीमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता कार्यलाई निषेध गर्ने नीति अनुरूप अनुसन्धान सुरु गरिएको हो।”
हाल उनीहरूमाथि थप अनुसन्धान जारी रहेको र अन्य व्यक्ति वा गिरोह संलग्न भए/नभएको यकिन गर्न अनुसन्धान व्यापक बनाइएको प्रहरी स्रोतले जनाएको छ।