गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा चट्याङका कारण खानेपानी आयोजनाको ट्रान्सफर्मर जलेपछि दर्जनौं परिवार खानेपानी संकटमा परेका छन्।
मिति २०८३ जेठ ७ गते बेलुका करिब ८ बजेतिर परेको चट्याङले गैरीछाप लिफ्टिङ खानेपानी आयोजनामा जडान गरिएको विद्युत् ट्रान्सफर्मर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो। घटनामा मानवीय क्षति नभए पनि ट्रान्सफर्मर बिग्रिएपछि आयोजनाबाट हुने खानेपानी आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
खानेपानीको वैकल्पिक व्यवस्था नहुँदा गैरीछाप, लामागाउँ, साउने र खनायोचौर क्षेत्रका करिब ८४ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। स्थानीयवासीहरू दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन कठिनाइ भोग्न बाध्य भएका छन्।
गैरीछाप लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तथा समाजसेवी बेदबहादुर गुरुङले ट्रान्सफर्मरमा भएको क्षतिले सम्पूर्ण आयोजना प्रभावित बनेको बताउनुभयो। उहाँका अनुसार खानेपानी आपूर्ति ठप्प हुँदा स्थानीय बासिन्दाले दैनिक जीवनमै समस्या झेल्नुपरेको छ।
अध्यक्ष गुरुङले ट्रान्सफर्मरको शीघ्र मर्मत तथा प्रतिस्थापन गरी खानेपानी सेवा पुनः सञ्चालन गर्न स्थानीय सरकार, विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउनुभएको छ।
उहाँले खानेपानीजस्तो आधारभूत र अत्यावश्यक सेवामा आएको अवरोधलाई संवेदनशील रूपमा लिएर आवश्यक स्रोत–साधनको व्यवस्था गरी समस्या यथाशीघ्र समाधान गर्न आग्रह गर्नुभएको छ। स्थानीयवासीले पनि सम्बन्धित निकायबाट छिटो पहल भई खानेपानी सेवा पुनः सुचारु हुने अपेक्षा गरेका छन्।





