जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द–५ स्थित घुर्विसे पञ्चमी सहकारी संस्था भवनमा सेप्टिक ट्याङ्की निर्माणका क्रममा अक्सिजनको मात्रा कम हुँदा चार जना श्रमिक बेहोस भएका थिए।
बेहोस भएका श्रमिकमध्ये ३८ वर्षीय रत्न चेम्जोङलाई उपचारका लागि इलाम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
अन्य तीन जनामध्ये २४ वर्षीय भिष्म चेम्जोङको अवस्था गम्भीर रहेको छ। उनलाई झापाको बिर्तासिट अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। यस्तै, ४० वर्षीय बिरु चेम्जोङ र ३० वर्षीय संगीत चेम्जोङको भने होस खुलेको छ।
उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक शेरबहादुर राईका अनुसार करिब १२ मिटर गहिराइको ट्याङ्कीभित्र अक्सिजनको मात्रा निकै कम भएकाले उनीहरू निसासिएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय बासिन्दा र प्रहरीको सहकार्यमा उद्धार प्रयास गरिए पनि तत्काल सफल नभएपछि स्काभेटर प्रयोग गरी बाटो बनाएर श्रमिकहरूलाई निकालिएको थियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।