काठमाडौं, असार २६ – संवाददाता
काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको ज्यान गएको छ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भई हाल काठमाडौंमा बस्दै आएकी उर्मिला तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिनुभयो।
दिउँसो तामाङको डेरामा आगलागी भएको सूचना पाएपछि प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो।
तर उनी कोठाभित्रै मृत अवस्थामा फेला परेको एसपी बोहराले बताउनुभयो।
आगलागीबाट झ्याल, ढोका, लत्ताकपडा लगायत पूर्णरूपमा जलेर नष्ट भएको छ।
हालसम्म आगलागीको ठोस कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
स्थानीयबासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।
प्रहरीले घटनास्थलको प्राविधिक परीक्षण गर्दै आगलागीको कारणबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
त्यस्तै, मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।