साउन १३, पोखरा– आज देशभर नागपञ्चमी पर्व श्रद्धापूर्वक मनाइँदैछ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने परम्परा छ।
धार्मिक विश्वासअनुसार यसरी पूजा गर्दा सर्प, नाग, बिच्छी जस्ता जीवबाट रक्षा हुने मात्र होइन, आगलागी, चट्याङ र अन्य विपद्बाट पनि घर सुरक्षित रहने मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजा वैदिककालदेखि प्रचलित छ।
पुराणहरूका अनुसार नाग पानीका देवता मानिन्छन्। नाग रिसाए पानीको अभाव हुने भएकाले वर्षासँग यसको सम्बन्ध जोडिएको छ। बराहपुराणमा ब्रह्मा र नागराजबीच संवाद भएको दिन भएकाले आजको दिन नागपूजाका लागि विशेष मानिन्छ।
वैदिक परम्पराअनुसार आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरिन्छ। पूजा गरेर चित्र टाँसेपछि खेतबारी खनजोत नगर्ने र सर्पलाई नमार्ने मान्यता छ।
आज काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागस्थानमा विशेष पूजाआजा हुँदैछ। गाईको दूध, अक्षता, दुबो, खीर र रोटी चढाउने परम्परा रहिआएको छ।
धर्मशास्त्रविद्हरूका अनुसार नागलाई विष्णु र शिवका प्रतीकका रूपमा मानिन्छ। भगवान शिवले नागलाई गहना बनाउने र विष्णुले शेषनागमाथि शयन गर्ने वर्णन पुराणमा पाइन्छ।
नागपञ्चमीसँगै वैदिक सनातन धर्मावलम्बीका चाडबाड सुरु हुने धार्मिक विश्वास छ।