साउन १२ गते उर्मिला हायुसहितको परिवार सम्पर्क टुटेको खबर प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूले राति अबेरसम्म खोजतलासलाई तीव्र पारेका थिए।
सुरक्षाका लागि परिवारको अन्तिम गतिविधि पत्ता लगाउने क्रममा साउन ६ गते खुर्कोटस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षा भत्ता निकालेको र ९ गते वडा कार्यालयमा पुगेर नवीकरण गरेको विवरण प्राप्त भएको थियो। साथै, गत शुक्रबार साँझ ७:२८ मा नेपाल टेलिकम रामेछाप टावरमार्फत मोबाइल सम्पर्क भएको पत्ता लागेको प्रहरीको भनाइ छ।
वर्षात्को जोखिम, विदेशबाट छोराको हालैको आगमन र भत्ता निकासी जस्ता कारणले विभिन्न आशंका गरिँदै खोजी अभियानलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।
परिवार बेपत्ता भए पनि घरमा बाख्रा र कुकुर बाँधिएका थिए। साथै, मासु पकाएको देखिनुका कारण सुरक्षाकर्मीले रमाइलो गर्न निस्किएको वा आफन्तकहाँ गएको अनुमान गरेका थिए।
पछिल्लो जानकारीअनुसार हायु परिवारले स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी सिन्धुली, हेटौँडा र मुग्लिन हुँदै पोखरा पुगेको पत्ता लाग्यो। सवारी चालकबाट जननी होटलमा छोडिएको पुष्टि भएपछि प्रहरीले पोखरामा खोजी जारी राखी सोमबार साँझ सम्पर्कमा ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
परिवारका सदस्यमा घरमुली उर्मिला हायु (५२ वर्ष), साथै कमला, कोमल माया, उषा, सुजता, अस्मिता, राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्ष्मण, सुवर्ण, ओमकुमारी, अर्जुन, रियासा र शान्ता हायु रहेका छन्। तीमध्ये १६ वर्ष मुनिका आठ जना थिए।