गत शुक्रबार राति ११ बजे काठमाडौंको गोंगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एन्ड लज को कोठा नम्बर २०१ मा ललिता बिकको शव फेला परेको थियो। बूढानीलकण्ठ नगरपालिका–२, भंगाल बस्दै आएकी ललिताको शव पलङभित्र कपडा कोचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक काजिकुमार आचार्यका अनुसार, सन्तोषले सम्बन्ध विच्छेदको अन्तिम छलफल गर्ने बहानामा पत्नीलाई होटलमा बोलाएका थिए। कोठामा दुई–तीन घण्टा बसेपछि उनले घाँटी थिचेर हत्या गरेका थिए। त्यसपछि शव लुकाएर होटलबाट फरार भएका उनी भारत भाग्ने तयारीमा पर्सा पुगेका बेला पक्राउ परेका हुन्।
होटल सञ्चालिका भीममाया लिंखाले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेपछि मात्र शव फेला परेको हो। यसअघि मृतककी दाजु मोतीराम विश्वकर्माले साउन २८ गते नै बहिनी हराएको भन्दै प्रहरीमा खोजतलासको निवेदन दिएका थिए।
प्रहरी अनुसन्धानले सन्तोष र ललिताबीच दुई वर्षअघि विवाह भए पनि, विवाहअघि नै सन्तोषको अर्की महिलासँग प्रेम सम्बन्ध रहेको खुलाएको छ। विवाहपछि मानसिक र शारीरिक यातना सहनुपर्ने स्थितिबाट सम्बन्ध बिग्रँदै गएको र अन्ततः अलग बस्ने निर्णय भइसकेको अवस्थामा अन्तिम छलफल गर्ने बहानामा सन्तोषले हत्या गरेको प्रहरीले जनाएको छ।
हाल सन्तोषलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।