गाउँपालिका–२ हरिरावाका ३२ वर्षीय दीपककुमार रामको मलेसियामा निधन भएको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो। उहाँका अनुसार राम विगत एक दशकभन्दा बढी समयदेखि रोजगारीका लागि मलेसियामा कार्यरत थिए। मृत्युको कारणबारे विस्तृत जानकारी भने अहिलेसम्म प्राप्त भएको छैन।
रुपनी–२ का वडाध्यक्ष सरोजकुमार यादवका अनुसार राम त्यहाँस्थित प्लास्टिक फ्याक्ट्रीमा काम गर्दै आएका थिए। विगत शुक्रबार उहाँको मृत्यु भएपछि परिवार मात्र नभई पूरै हरिरावा गाउँ शोकमग्न बनेको छ।
मृतकका आफन्तले सरकारसँग शव छिटो नेपाल ल्याइदिन र मृत्युको कारणबारे स्पष्ट जानकारी दिन माग गरेका छन्।
रामका परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्। परिवारमा एक मात्र कमाउने सदस्यको अकालमा निधन भएपछि घरपरिवार गहिरो संकटमा परेको छ।