दसैँ सुरु हुन दुई साता बाँकी रहँदै मुस्ताङबाट भेडा र च्याङ्ग्रा पोखरा ल्याउने क्रम सुरु भएको छ। अन्य समयमा खसी, बोका वा कुखुराको मासु बढी खाने गरे पनि दसैँमा भने च्याङ्ग्राको मासु खाने परम्परा यस क्षेत्रमा प्रचलित छ।
शुक्रबारसम्म करिब १० हुल भेडा–च्याङ्ग्रा पोखरा आइसकेका छन्। पोखरा–२५, हेमजामा च्याङ्ग्राको बिक्री सुरु भइसकेको छ। व्यापारीहरूका अनुसार यस वर्ष एउटा च्याङ्ग्राको मूल्य ४० हजारदेखि ५० हजार रुपैयाँसम्म पर्छ।
पोखराका व्यापारी ऋषिराम पौडेलले उपल्लो मुस्ताङबाट १६० वटा च्याङ्ग्रा ल्याएको बताउँदै तौलअनुसार ४५ देखि ५० हजारमा बिक्री गर्ने जानकारी दिनुभयो। अर्का व्यापारी सुकबहादुर तामाङले भने ३८ देखि ४० हजारमा खरिद गरेको च्याङ्ग्रा अहिले ४५ देखि ५० हजारमा बिक्री गर्ने तयारी रहेको बताए।
गत वर्षको तुलनामा यसपटक च्याङ्ग्राको मूल्य केही कम रहेको व्यापारीहरूको भनाइ छ।


.png)

