घटनामा स्थानीय ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते हुनुभएको छ। उहाँलाई जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिनुभयो।
स्थानिय गिरिश चन्दको आठ कोठे र रेखा चन्दको चार कोठे घरसहित पाँचवटा गाई, चारवटा बाच्छी र १५ वटा बाख्रा पुरिएका छन्। दिउँसोको समयमा पहिरो खसेकाले १६ जना परिवारका सदस्य भागेर ज्यान जोगाउन सफल भएका छन्।
पीडित परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। स्थानीयवासीले डोजरले जथाभावी सडक खन्दा पहिरो र मुहान पुरिने समस्या उत्पन्न भएको गुनासो गरेका छन्। सामाजिक अगुवा देवबहादुर चन्दले २४ घण्टासम्म पनि स्थानीय तहका प्रमुख–उपप्रमुख घटनास्थलमा नपुगेको भन्दै असन्तोष व्यक्त गर्नुभयो।
यसैबीच, अविरल वर्षासँगै झुलाघट बजारनजिक पहिरो खसेर सवारी साधन रोकिएका छन् भने देहिमाण्डौं–गिरेगाडा सडक खण्डमा दुई दिनअघि खसेको पहिरो अझै पन्छाउन नसकिएको प्रहरीले जनाएको छ।