प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरतराज गौतमका अनुसार जिल्लामा करिब १९ हजार च्याङ्ग्रा रहेकोमा यसपटक ११ हजारभन्दा बढी बिक्रीका लागि तयारी अवस्थामा छन्। त्यस्तै करिब ६ सय भेडा पनि दशैँका लागि बाहिरिने अनुमान गरिएको छ।
सबैभन्दा धेरै च्याङ्ग्रा लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट निकासी हुनेछन्। यसबाहेक तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाका कृषकहरूले समेत भेडाच्याङ्ग्रा बिक्री गर्ने गरेका छन्।
उत्पादन र लागत
जिल्लाभर सूचीकृत एक सयभन्दा बढी कृषकका गोठमा ५६ हजार च्याङ्ग्रा छन्। एउटा च्याङ्ग्रा बिक्रीयोग्य बनाउन प्रतिकेजी करिब ११ सय ९२ रुपैयाँ लागत पर्छ। चरनक्षेत्र र गोठालोको अभावका कारण मागअनुसार उत्पादन गर्न कठिनाइ भएको गौतमले बताए।
भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार, जिल्लामा करिब ५,५०० भेडा रहेका छन्, जसमा ६ सय भेडा दशैँ लक्षित बिक्रीका लागि तयारी अवस्थामा छन्। तिब्बतबाट आउने भेडाच्याङ्ग्रासमेत जोमसोम र घाँसामा स्वास्थ्य परीक्षण गरेर मात्र बाहिर पठाइने उनले जानकारी दिए।
मुस्ताङमै रोज्जा च्याङ्ग्राको मूल्य यसवर्ष करिब ३५ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ। म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायतका व्यापारी दशैँअघि मुस्ताङ पुगेर गोठमै नगद दिएर खरिद गर्छन्।
लेकाली जडीबुटी खाएर हुर्किएका भेडाच्याङ्ग्रा स्वादिष्ट मात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले दशैँ–तिहारमा यसको माग अत्यधिक हुने व्यापारीहरूले बताएका छन्।