१६ भदौ, जुम्ला ।
अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका–१ गगनेखोलामा भदौ १४ गते बिहानदेखि रोकिएको सडक अझै खुलेको छैन।
सडक अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेका २० वटा ट्रक बाटोमै अलपत्र परेका छन्। ती ट्रकमा करिब ७०९ क्विन्टल (करोडौं मूल्य बराबर) स्याउ रहेको छ।
ठूला ढुङ्गा खसेकाले ब्रेकरले फुटाउन नसकेपछि अब ब्लास्टिङ गरेर मात्र सडक खोल्ने तयारी भइरहेको छ।
व्यापारीहरूका अनुसार लगातार ढुवानी अवरुद्ध हुँदा स्याउ कुहिने जोखिम उच्च छ। व्यापारी हरिसिंह नेपालीले भने, “स्याउ निर्यातकै सिजनमा बाटो बन्द हुँदा किसान र व्यापारी दुबै मारमा परेका छन्।”
किसानको मुख्य आम्दानीको स्रोत स्याउ निर्यात भएकाले सडक अबिलम्ब खुलाउन माग गरिएको छ।





