भदौ ३१ गते । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगजनीपछि लुटिएको ठूलो परिमाणको नगद र सुनचाँदी फिर्ता गरिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार स्थानीय जनप्रतिनिधि र समाजसेवीको पहल तथा सुरक्षाकर्मीको सक्रियतामा दुई लाख ५२ हजार ६२६ रुपैयाँ नगद, ४२१.३२ ग्राम सुन र नौ किलो ९८४ ग्राम चाँदी फिर्ता ल्याइएको हो । सोमबार राति फिर्ता भएको सामान कार्यालयका शाखा अधिकृत, स्थानीय जनप्रतिनिधि तथा प्रहरीको उपस्थितिमा मुचुल्का बनाई सुरक्षित राखिएको जनाइएको छ ।
यसअघि आइतबार प्रहरीले कोहलपुर नगरपालिका–२ सालको बुटा नजिकैबाट नगद सात लाख ६६ हजारसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगञ्ज उपमहानगरपालिका–१८ का २६ वर्षीय ऋषिकेश मिश्र रहेका छन् । उनीहरूले बैंकबाट पैसा निकालेर फर्किरहेका एक व्यक्तिको झोला लुटेको प्रहरीको दाबी छ । बा ८७ प ९०२० नम्बरको स्कुटरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार सूचना प्रकाशित भएपछि जिल्लाभर लुटिएको सामान छिटपुट रूपमा फिर्ता आउन थालेको छ । फिर्ता नगर्नेहरूमाथि भने कडा कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ ।






