भदौ ३१ गते । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा सोमबार भएको गाडी दुर्घटनामा एकै परिवारका तीनजनासहित चार नेपालीले ज्यान गुमाएका छन् ।
सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, उनका आफन्त ३६ वर्षीय एकेन्द्र शाही, बुहारी २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो । दुर्घटना हिमाञ्चल प्रदेशको कोटखाई नजिकैको कुड्डु नाला क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । गाडीको पछाडितर्फ बसिरहेका कारण उनीहरूले फाल हानेर ज्यान जोगाएको बताइएको छ । मृतक लक्ष्मी नवराजकी पत्नी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा भएको खुलेको छ ।
यस दुर्घटनामा गाडी चालक भारतीय नागरिक जोगिन्दर सिंहको समेत मृत्यु भएको छ । घाइतेहरूको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
पोष्टमार्टमपछि सबै मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको सम्बन्धित अधिकारीले जनाएका छन् ।




