काठमाडौँ, भदौ ३१ गते । जेनजी आन्दोलनका क्रममा सिंहदरबार र आसपासका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । गत मङ्गलबार भएको घटनामा ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी १,०४२ सवारीसाधन क्षतिग्रस्त भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको हो ।
स्थलगत अवलोकन र सम्बन्धित निकायको प्रारम्भिक अनुमानका आधारमा संकलित यो तथ्याङ्क अझ बढ्न सक्ने जनाइएको छ । तोडफोड मात्र भएका सवारीसाधन यसमा समावेश गरिएको छैन ।
सबैभन्दा बढी क्षति सडक विभागमा भएको छ, जहाँ ६५ गाडी नष्ट भएका छन् भने मोटरसाइकल/स्कुटर गन्न नसकिने अवस्थामा जलेका छन् । त्यसपछि सर्वोच्च अदालतमा ५१ गाडी र सयौँ दुईपाङ्ग्रे, सहरी विकास तथा भवन निर्माण विभागमा ५० गाडी र झन्डै २०० मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ४७ गाडी र ७४ मोटरसाइकल, अर्थ मन्त्रालयमा ३६ गाडी र ५४ मोटरसाइकल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३३ गाडी, दुई बस र ३६ मोटरसाइकल जलेका छन् ।
यी निकायका पार्किङमा रहेका निजी सवारीसाधन समेत नष्ट भए पनि त्यसको विस्तृत विवरण आइसकेको छैन । जेनजी आन्दोलन सुरु भएपछि मन्त्रालयका सवारीसाधन निजी घरमा नराखी सिंहदरबार परिसरमै राख्न निर्देशन दिइएको थियो । तर, सुरक्षित मानिएको त्यही परिसरमा भएको आगजनीले अकल्पनीय क्षति निम्त्याएको छ ।






