नवलपरासी, असोज ११ गते । पश्चिम नवलपरासीमा जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका १४ जना धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दघाटका एक चिकित्सकसहित ११ जना र सुनवलका तीन जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालतको आदेशअनुसार प्रत्येकले जनही ६० हजार रुपैयाँ धरौटी बुझाएपछि आफन्तको जिम्मामा छाडिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले अदालतको म्याद थप गरेर उनीहरूलाई हिरासतमा राख्दै अनुसन्धान गरिरहेको थियो। सो समूहले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ भित्रका नेताहरू र जनप्रतिनिधिहरूको निजी सम्पत्तिमा सर्वाधिक आगजनी तथा तोडफोड गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता २०७४ र फौजदारी कार्यविधि संहिता २०७४ अनुसार अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यक्तिलाई धरौटी वा जमानीमा छाड्न सकिने व्यवस्था छ। सोही आधारमा उनीहरूलाई रिहा गरिएको हो।
तर, उनीहरूमाथि दर्ता भएको मुद्दा भने अदालतमै रहनेछ। कानुनअनुसार कसैको घर वा सम्पत्तिमा आगजनी वा विस्फोटक पदार्थ प्रयोग गरी उपद्रव गरे पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवानाको सजाय हुने प्रावधान छ।




