भदौ १७ गते, पोखरा । कास्कीको पोखरा महानगरपालिका–८, जाल्पारोडस्थित खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा ४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मङ्गलबार दिउँसो ३ः४५ बजे खटिएको प्रहरी टोलीले अनैतिक गतिविधिमा संलग्न ११ जना महिलालाई उद्धार गरी कोपिला नेपाल संस्थामा पठाएको छ भने खाजाघर सञ्चालक ४ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा चितवन घर भई हाल पोखरा–८ जाल्पारोड बस्ने २८ वर्षीया सुनिता तामाङ, तनहुँ व्यास–८ घर भई हाल पोखरा–८ सृजनाचोक बस्ने १९ वर्षीय सुवास गुरुङ, बाग्लुङ जैमनी–८ घर भई हाल पोखरा–८ न्यूरोड बस्ने २१ वर्षीय सागर थापा मगर र २१ वर्षीय शंकर थापा रहेका छन्।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइरहेको प्रहरीले जनाएको छ।