भदौ १८ गते । कैलालीको टीकापुर बहुप्राविधिक शिक्षालयमा पसेर आतङ्क मच्चाउँदै आएको चितुवालाई बुधबार नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले राखेको ट्रयापमार्फत चितुवा नियन्त्रणमा आएको हो।
शिक्षालयका प्रमुख पारस खड्काका अनुसार भदौ १ गते चितुवा शिक्षालय परिसरभित्र पसेर बाख्रा र भदौ ३ गते कुकुर खाएपछि नियन्त्रणका लागि वन कार्यालयमार्फत निकुञ्जसँग सहयोग मागिएको थियो। त्यसअनुसार भदौ ४ गते राखिएको ट्रयापमा बुधबार बिहान करिब २ बजेतिर भाले चितुवा फसेको हो।
नियन्त्रणमा आएको चितुवालाई सोही दिन बेलुकी बर्दिया राष्ट्रिय निकुञ्जतर्फ लगिएको निकुञ्ज टोलीले जनाएको छ। टीकापुर प्राविधिक शिक्षालय कर्णाली नदी किनार र सामुदायिक वनसँग जोडिएको क्षेत्र भएकाले वन्यजन्तु प्रवेशको सम्भावना बढी रहेको फरेष्टर भिष्मराज ओझाले जानकारी दिनुभयो।
‘बाघको सङ्ख्या बढेकाले चितुवा ठूलो जंगलमा टिक्न सक्दैनन्,’ उहाँले भन्नुभयो, ‘आहार खोज्दा गाउँनजिक आउन बाध्य हुन्छन्।’
चितुवाको आतंकका कारण लामो समयदेखि त्रसित रहेका विद्यार्थी र प्रशिक्षकलाई अहिले राहत महसुस भएको विद्यार्थी रामप्यारी कुंवरले बताइन्।