धादिङ, असोज १ । मानसिक अपाङ्गता भएकी २९ वर्षीया बलात्कार पीडित महिलाको उपचारकै क्रममा बुधवार बिहान धादिङ अस्पतालमा मृत्यु भएको छ ।
नीलकण्ठ नगरपालिका–१० का ३१ वर्षीय खिलबहादुर मानन्धरले भदौ २५ गते घरमा कोही नभएको मौकामा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
रक्तअल्पता र स्वास्थ्य जटिलताका कारण भदौ ३१ गते अस्पतालमा भर्ना भएकी पीडितलाई रगत चढाएर उपचार गरिए पनि जीवित बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
घटनापछि गाउँलेहरूले पक्राउको आग्रह गरे पनि आरोपित मानन्धर हालसम्म फरार छन् । मृतक महिलाको शव धादिङ अस्पतालमै पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।






