असोज १ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोर्सेरका कृषक आङ्ग्याल गुरूङले दशैंलाई लक्षित गरी रोज्जा च्याङ्ग्रालाई ३५–३८ हजारसम्ममा गोठमै बिक्री गर्नुभयो । करिब दुई दशकदेखि च्याङ्ग्रापालनमा सक्रिय गुरूङले हालसम्म डेढसय बिक्री गरिसक्नुभएको छ भने थप डेढसय बिक्री गर्न सदरमुकाम जोमसोम झर्नुभएको छ ।
तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरीका कृषक आङ्ग्या (ङवाङ) गुरूङले भने गोठमै डोल्पाका व्यापारीलाई प्रतिच्याङ्ग्रा ३३ हजारमा बिक्री गरी एकैपटक करिब ३० लाख रुपैयाँ हात पार्नुभयो । व्यापारीहरूले गोठमै खरिद गर्दा मूल्य केही सस्तो हुने गरे पनि बजार क्षेत्रमा ३५ हजारसम्म बिक्री भइरहेको कृषकहरूको भनाइ छ ।
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङका अनुसार यसवर्ष दशैंका लागि मुस्ताङबाट मात्रै १२ हजार बढी च्याङ्ग्रा निकासी हुने अनुमान छ । मुस्ताङ बाहेक जुम्ला र डोल्पाबाट समेत ५ हजारभन्दा बढी आउने देखिन्छ । कोरला नाका खुला भएकाले तिब्बती च्याङ्ग्रा पनि अन्तिम समयमा बजारमा आउन सक्ने संभावना छ ।
हाल जिल्लाभरी सूचीकृत १ सय कृषकका गोठमा करिब ५६ हजार च्याङ्ग्रा रहेकोमा स्वास्थ्य परीक्षणपछि मात्र बाहिर पठाइने केन्द्रका प्रमुख डा. लालमणी अर्यालले जानकारी दिनुभयो ।
च्याङ्ग्रा व्यापार तिव्र बन्दै जाँदा बजार मूल्य अन्तिम उपभोक्तासम्म पुग्दा ४० हजारसम्म हुने अनुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्किने च्याङ्ग्राको मासु स्वादिष्ट मात्र नभई स्वास्थ्यका लागि पनि लाभदायी मानिँदा उपभोक्ताको आकर्षण बढेको व्यापारीहरूको भनाइ छ ।






