दिपायल, असोज १ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा आज ‘बुढी पोल्ने’ पर्व उल्लासपूर्वक मनाइँदै छ । प्रत्येक वर्ष असोज १ गते मनाइने यस पर्वलाई भगवान् श्रीकृष्णले राक्षसी पूतनालाई वध गरेको सम्झनामा विजयोत्सवका रूपमा मनाइने गरिएको छ ।
स्थानीयवासी कमलसिंह विकका अनुसार भदौ १ गते सडक छेउ वा बिचमा गाडिएका सल्ला, बाँझ, निगालो आदिका हाँगाबिँगा पूतनाको प्रतीक मानिन्छन् । असोज १ गते ती प्रतीकहरू सामूहिक रूपमा जलाइन्छ, जसलाई ‘बन्दुनी जलाउने’ भनिन्छ ।
अर्का स्थानीय दलबहादुर साउदका अनुसार यस अवसरमा गाउँका सबैले मिलेर आगो दन्काउँदै आफ्नो बारीमा फलेका काँक्रा खाइन्छ र लुतो फाल्ने परम्परा पनि छ । पर्वपछि घर फर्किँदा बाटोमा दियालो गाड्ने चलनसमेत रहेको छ ।
यस दिनलाई सुदूरपश्चिममा ‘बन्दुनी सङ्क्रान्ति’ भनेर पनि चिनिने गरिएको बुढापाकाहरू बताउँछन् ।






