Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ


कात्तिक ५ गते ।
नेपाल सम्वत् ११४६ आज (बुधबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेवार समुदायले यो सम्वतलाई नयाँ वर्षका रूपमा विशेष उत्साहसाथ मनाउने परम्परा रहँदै आएको छ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (ई. स. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात गराएका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्का रूपमा मान्यता प्राप्त थियो।

उनका अनुसार, “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहसम्म मौलिक सम्वत्को रूपमा चल्यो। लिच्छविकालअघि शक सम्वत् प्रचलनमा थियो। नेपाल देशकै नामबाट राखिएकाले यो हाम्रो मौलिक सम्वत् हो,” डा. मानन्धरले बताउनुभयो।

विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताको अभियान थालिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार बस्तीहरूमा आज विशेष रौनक छ।

गरिब जनताको ऋणमोचन गरी सामाजिक सेवाको अद्वितीय उदाहरण प्रस्तुत गरेका शंखधर साःख्वालाई २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो।

त्यसैगरी, २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गर्नुभएको थियो।
परम्पराअनुसार, कार्तिक कृष्ण औँसीका दिन पुराना बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने चलन आज पनि काठमाडौँ उपत्यकामा प्रचलित छ।

Top Post Ad

post bottom ads

Ads Bottom