रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुवाहक बसमा आगलागी हुँदा बस पूर्णरूपमा जलेर नष्ट भएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरी नायब उपरीक्षक रुपा लाबुंगका अनुसार बिहान ७ः२० बजे लागेको आगो करिब एक घण्टापछि अर्थात् ८ः१५ बजे नियन्त्रणमा आएको हो। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र बारुण यन्त्र परिचालन गरिएको थियो।
आगलागीबाट बस पूर्णरूपमा जलेर क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।




