लिस्बन (पोर्चुगल), कात्तिक २ गते ।
वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक नेपाली युवा गत सातादेखि सम्पर्कविहीन भएका छन् ।
तनहुँ भानु नगरपालिका–९, पिपलपानी निवासी ३४ वर्षीय जितेन्द्र पाण्डे गत सोमबारदेखि पोर्चुगलको सिन्ट्रा क्षेत्रबाट बेपत्ता भएको उनका साथी विदुर तामाङले राससलाई जानकारी दिनुभयो ।
तामाङका अनुसार गत आइतबार राति पाण्डे “साथीको फोन आएको छ” भन्दै घरबाट निस्किएका थिए, त्यसपछि उनी कहिल्यै फर्किएनन् । सोमबारदेखि काममा पनि नआएपछि खोजी थालिएको हो ।
“पाण्डे सम्पर्कविहीन भएपछि हामीले नेपालस्थित परिवारलाई पनि सम्पर्क गर्यौं,” तामाङले बताए, “त्यहाँबाट खबर आयो — उनले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा नहुने भनेका रहेछन्, त्यसपछि सम्पर्क टुटेको हो।”
बेपत्ता पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानी र व्यक्तिगत सामानहरू उनी बस्ने कोठामै भेटिएका छन् ।
उनका परिवारमा नेपालमा वृद्ध बुबा–आमा र दिदीबहिनी छन् ।
पाण्डे करिब दुई वर्षअघि क्रोएसिया हुँदै पोर्चुगल आएका थिए र हाल सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए ।
पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार, घटनाबारे दूतावासलाई जानकारी प्राप्त भएपछि तत्कालै स्थानीय प्रहरी प्रशासनलाई खबर गरी खोजी कार्य सुरु गरिएको छ ।
राजदूत पौडेलले भने, “दूतावासले पाण्डेको खोजीका लागि स्थानीय निकाय र प्रहरीसँग निरन्तर समन्वय गरिरहेको छ, सक्दो सहयोग गरिनेछ।”





