कात्तिक १० गते ।
कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ।
बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुले आज साँझ सूर्यदेवप्रति श्रद्धा र आस्थासाथ अर्घ्य अर्पण गर्ने धार्मिक परम्परा रहेको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्य उपासना र आराधनाको यो पर्व शनिबारदेखि सुरु भएको हो।
महाभारतका अनुसार, द्रौपदी र पाँच पाण्डवले अज्ञातवासको सफलताका लागि सूर्यदेवको आराधना गरेका थिए। त्यसयता छठ पर्व मनाउने परम्परा सुरु भएको विश्वास छ।
त्यसैगरी सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेपछि अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको उल्लेख पाइन्छ।
संसारको सम्पूर्ण जीवन शक्ति सूर्यमा आधारित छ। सूर्यको किरणले वनस्पति, प्राणी र मानव सबैमा जीवन शक्ति दिन्छ।
साम्ब पुराणमा कृष्णपुत्र साम्बले सूर्य आराधनाद्वारा कुष्ठरोगमुक्त भएको कथा छ।
यस कारण, छठ व्रतले रोग, दुःख र दरिद्रताबाट मुक्ति दिलाउने जनविश्वास छ।
- कात्तिक शुक्ल चतुर्थीमा स्नान गरी एक छाक भोजन गरेर व्रत आरम्भ गरिन्छ।
- पञ्चमीका दिन ‘खरना’ अर्थात् सखर मिसाएको खीर षष्ठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गरिन्छ।
- षष्ठीका दिन (आज) व्रतालुले कठोर निराहार बस्दै बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्।
- सप्तमीका बिहान उदाउँदो सूर्यलाई पुनः पूजा गरी अर्घ्य दिएपछि व्रत समापन हुन्छ।
धार्मिक विश्वास अनुसार, यस विधिले छालासम्बन्धी रोग लाग्दैन, र सन्तान सुख, आरोग्य र समृद्धि प्राप्त हुन्छ।
राजधानी काठमाडौंमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, बागमती, नख्खु र विष्णुमती किनारमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ।
व्रतालुहरूले चोखो खानपान, सात्विक भोजन र शुद्ध जीवनशैली अपनाएर यो पर्व मनाउने गर्छन्।
पहिले तराईका सीमित क्षेत्रमा मनाइने छठ अहिले देशव्यापी चाड बनेको छ।
वि.सं. २०४६ पछि यो पर्वका अवसरमा सार्वजनिक बिदा दिइँदै आएको छ, र हाल पुनः निरन्तरता पाएको छ।
छठ पर्वले सूर्य आराधनासँगै शुद्धता, श्रद्धा र समर्पणद्वारा आत्मिक तथा पारिवारिक समृद्धिको प्रतीक बनेको छ।





