Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

२० वर्षअघिको हत्या घटनामा संलग्न आरोपी पक्राउ

कात्तिक ९ गते ।
म्याग्दीमा करिब २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार २०६२ साल असोज ६ गते राति बेनी नगरपालिका–६ (साविक अर्थुङ्गे–८) माझखेतका ६५ वर्षीय कर्णबहादुर घर्ती क्षेत्रीको हत्यामा संलग्न रहेको अभियोगमा **कृष्ण भन्ने ठहरबहादुर घर्ती क्षेत्री (४३ वर्ष, जरबुटा, बेनी–६)**लाई पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार, गोप्य सूचनाको आधारमा कात्तिक ७ गते राति करिब ९ बजे निजकै घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। प्रारम्भिक सोधपुछमा ठहरबहादुरले हत्या घटनामा संलग्न भएको स्वीकार गरेका छन्।

२०६२ सालमा घरको पिँढीमा सुतिरहेका कर्णबहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरिएको थियो। सो क्रममा उनकी श्रीमती ६० वर्षीया इन्द्रकुमारी घर्ती क्षेत्री गम्भीर घाइते भएकी थिइन् र सुनका गरगहना लुटिएको प्रहरीले जनाएको छ।

हत्या घटनापछि ठहरबहादुर गाउँबाट फरार भएका थिए। उनी पहिले पनि २०५९ पुसमा जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भोग्दै म्याग्दी कारागारमा रहेका थिए, तर २०६० सालमा माओवादी आक्रमणका क्रममा कारागारबाट फरार भएका थिए।

फरार भएपछि उनी २०६२ सालसम्म भारतको मुम्बईमा करिब पाँच वर्ष बसेका र त्यसपछि पोखरामा कान्छी श्रीमतीसँग बस्दै विभिन्न ठाउँमा ज्यामी र मिस्त्रीको काम गरेर लुकी बसेको अनुसन्धानले देखाएको छ।

प्रारम्भिक अनुसन्धानमा उनले स्वीकार गरेअनुसार, मृतक दम्पतीसँग काम गरेपछि थप पैसा माग्दा तुच्छ व्यवहार र गालीगलौज भएपछि रिसको आवेगमा हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ छ।

प्रहरीले ठहरबहादुरलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom