अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सिराहाको कल्याणपुर नगरपालिका–५, चिकनास्थित प्रदेश सरकारको योजनामा लहान डिभिजनले निर्माण व्यवसायीमार्फत सञ्चालन गरेको सडक ढलान कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरी अनियमितता र हिनामिना गरिएको पाइएको हो।
मुद्दामा संलग्न भनिएका अन्य व्यक्तिहरूमा तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी,सब–इन्जिनियर चन्द्रकान्त चौधरी,निर्माण कम्पनी जय धनन्जय/रब्बानी जे.भी. रसो कम्पनीका प्रोपराइटर जफिर कवारी रहेका छन्।
अख्तियारका अनुसार २०७७ असार २१ गते सम्झौता भई २०७७ चैत ३० गते कार्य सम्पन्न गर्ने गरी योजना अघि बढाइएको थियो। तर २०७७ पुस ५ मा कार्य सम्पन्न भएको देखिए पनि गुणस्तर परीक्षणमा हेराफेरी गरिएको प्रमाण फेला परेको छ।
आयोगका अनुसार डिभिजन कार्यालयले आफ्नै ल्याबमा ५० वटा क्युब नमुना परीक्षण गरी नतिजा हेरफेर गरेको र पछि परीक्षण नभएका नमुना कास्टिङ गरेर झूटो ल्याब रिपोर्ट तयार गरी भुक्तानी लिएको देखिएको छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा बुधबार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।




